नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नयाँ दल एकीकृत समाजवादी ले चुनाव चिन्ह कलम रोजेको छ । निर्वाचन आयोगमा दर्ताका लागि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको हो ।
यसअघि दल दर्ताको निवेदन दिदा उक्त समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरेको थियो ।
निर्वाचन आयोगले प्रस्तावित नाम अर्को दलसँग मिल्दोजुल्दो देखिएकाले नयाँ नाम ल्याउन सुझाव दिएको थियो ।
त्यसपछि, ‘नेकपा (एकीकृत समाजवादी)’ नामको पार्टी दलको प्रस्ताव गरेको नेपाल समूहले निर्वाचन चिन्ह पनि परिवर्तन गरेको हो ।
चुनाव चिन्ह ‘कलम’ निर्वाचन आयोगको चुनाव चिन्ह बैंकमा समेटिएको छ । यसअघि चुनाव चिन्हको रुपमा ‘खुल्ला किताब’ निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले प्रयोग गर्दै आएका थिए ।
दल दर्ताको गृहकार्यमा रहेको उक्त समूहले चुनाव चिन्ह छनोटमा परिवर्तन ल्याएर ‘कलम’ रोजेको हो ।








