एमालेले अवरुद्ध गर्यो लुम्बिनी प्रदेश सभाको बैठक



प्रमुख पतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । सोमवार बसेको बैठकमा एमाले सांसदले नाराबाजी गर्दै रोस्टम घेराउ गर्दै बैठक अवरुद्ध गरेको हुन्।

एमालेले सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने अडान लिएको छ ।

भदौ १ गतेदेखि शुरू भएको नवौं अधिवेशन कुनै पनि बैठक चलेका छैनन् । अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने एमालेले बताएको छ ।

मुख्यमन्त्रीले आज नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी भइरहेको सत्ता पक्षकै एक सांसदले बताएका छन् ।

स्रोतका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट विश्वासको मत लिने कार्य सूची पास नभएपनि सभामुख घर्तीले आफ्नो अधिकार प्रयोग गर्दै विश्वासको मतको प्रक्रिया सुरु गर्ने तयारी भएपछि बैठक केही समय ढिला भएको हो ।

एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सत्तापक्ष बल प्रयोग गरेरै विश्वासको मत लिने तयारीमा जुटेको सूचना पाएपछि एमालेले सशक्त प्रतिवाद गर्ने बताए । विवादकाबीच सदन चलाउन सभामुखले शुरु गरेपनि निरन्तर एमाले सांसदहरुले नारा लगाइरहेका छन् ।

यसैबीच प्रदेशसभाले दुई जना फोटो पत्रकारलाई मात्र प्रदेशसभामा जान दिने अनौठो निर्णय आजदेखि शुरु गरेको छ । प्रदेशसभाको यो निर्णयपछि समाचारका लागि पुगेका पत्रकारहरु आक्रोशित भएका छन् ।

प्रकाशित मिति : भदौ ७, २०७८ सोमबार  २ : २२ बजे