प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल राष्ट्रपति निवास शितलनिवास पुगेका छन् ।
सोमबार प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् ।
एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपाललाई राष्ट्रपतिले शितल निवासमा बोलाएको विषयबारे खुलेको छैन। तर पार्टी एकताको सम्भावनाबारे राष्ट्रपतिले चासो राखेको बताइएको छ।
नेपाल नेतृत्वको पार्टीमा लागेका केन्द्रीय सदस्यहरूलाई सनाखतको लागि बुधबार निर्वाचन आयोगले बोलाएको छ।
यस्तै नेपालले पार्टी विभाजन गरेसंगै तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले नेपाल अब कुनै पनि हालतमा एमालेमा नफर्कने निष्कर्ष निकालेको छ ।
यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग ‘निर्णायक’ छलफल गर्ने भन्दै ओली निवास बालकोट पुगेका थिए ।
‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न संकल्पित गरेकाले अब उहाँ एमालेमा फर्कनुहुन्न भन्ने निष्कर्ष निकाल्नुभयो,’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने ।
‘अपिल गरे पनि वा अरू कुनै आधारबाट पनि माधव नेपाल फर्कने सम्भावना छैन भन्ने निष्कर्ष रह्यो,’ ज्ञवालीले भने, ‘उहाँहरू त जानुभयो तर निर्वाचन आयोगले सनाखतको लागि बोलाएको छ । थप साथीहरू त्यसमा नजानुहोस् भन्नका लागि भोलिको बैठकले केही आह्वान गर्ला ।’
तटस्थ बसेका नेताहरूले भनेजस्तै पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किसकेको र पार्टी विभाजनमा नगएकाहरूलाई पुरानै जिम्मेवारीमा यथावत् रहने पनि ज्ञवालीले बताए ।
एमालेको पार्टी विवाद समाधानको लागि १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । आज उनकै निवास बालकोटमा पार्टीका स्थायी कमिटी सदस्यहरूसँग भएको छलफल पछि ओलीले भदौ ८ गते विहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको ज्ञवालीले जानकारी दिए ।








