माधव नेपालले केपी ओलीले एमालेको नाम फेर्न प्रस्ताव गरेको खुलासा गरेका छन् । मंगलबार चन्द्रागिरिमा सञ्चारकर्मीहरूसँग नेपालले अध्यक्ष ओलीले एमालेलेको नाम फेर्ने प्रस्ताव गरेपनि आफुँले रोकेको बताएका हुन् ।
पार्टी दर्ताको लागि विधान तयार गर्न नेताहरूलाई लिएर चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका नेपालले सञ्चारकर्मीहरूले सोधेको कम्युनिष्ट पार्टी छाडेर समाजवादी केन्द्र बनाउने र त्यसको अध्यक्ष तपाईं हुने हो ? भन्ने प्रश्नको जवाफ दिने क्रममा नेपालले ओलीले एमालेको आचरण कम्युनिष्टको जस्तो नभएकाले नाम फेर्ने प्रस्ताव गरेको बताएका हुन् ।
‘केपी ओलीले कम्युनिष्ट पार्टी नै छैनन्, एमालेको नाम पनि फेरौँ भनेका थिए मैले मानिनँ,’ नेपालले भने ।
नयाँ पार्टी दर्ता भएपछि कम्युनिष्ट पार्टीहरूबीचमा एकताको प्रयास गर्ने नेपालले बताए ।
केही दिन अघि जनता समाजवादी पार्टीका संघीय परिषदको अध्यक्ष डा। बाबुराम भट्टराईले कम्युनिष्ट आचरण बाँकी नभएको र अब समाजवादी पार्टीहरू एकीकृत हुनुपर्ने धारणा राखेका थिए ।
‘कम्युनिष्ट पार्टी छाडेकाहरूसँग कुनै हालतमा एकीकरण हुन सक्दैन । बाबुराम भट्टराईको विचारसँग मेरो सहमति छैन । वामपन्थी विचारधारा बोकेका पार्टीहरूबीचको एकतालाई प्राथमिकतामा राख्छौँ,’ नेपालले भने ।
‘कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने अभियानमा रहन्छौं । केपी ओली समूहको धारणा परिवर्तन भयो भने उनीहरूसँग पनि एकता हुन सक्छ । वामपन्थीहरूसँग चुनावी तालमेल हुन सक्छ,’ नेपालले भने ।
मध्यमार्गी भनिएका दोस्रो पुस्ताका नेताहरूले २०७५ जेठ २ लाई बहाना बनाउँदै केपी गुटमा छिर्ने माध्यम मात्रै बनाएको नेपालको आरोप छ ।








