माधवकुमार नेपाललाई नलिइकन पार्टी एकतामा जादैनौ : अष्टलक्ष्मी शाक्य



बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई नलिइकन पार्टी एकतामा नजाने बताएकी छन् ।

आफूहरूले नेता नेपाललाई यी–यी शर्तहरू पुरा भएमा एकतामा आउने भन्ने खालको आपसी सहमति भएको समेत खुसाला गरेकी छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’मा मुख्यमन्त्री शाक्यले भनिन्, ‘अहिले माधव नेपाल समुह र केपी ओली नेतृत्वको एमाले बीच दुइटा पार्टी जस्तै नभएतापनि व्यापक असमझदारीको कुरा त देखिएकै छ । फेरि माधव कमरेड वरिष्ठ नेता र पहिला लामो समय महासचिव भएर पार्टीको नेतृत्व गरिसक्नु भएकाले दुई समुह मिल्नका लागि माधव कमरेडलाई पनि सम्मान सहितको अध्यक्ष पदमा राख्नु पर्दछ भन्ने हाम्रो कुरा हो ।’ उनले एकता विना कसैको पनि भविष्य नरहेको समेत बताइन ।

मुख्यमन्त्री शाक्यले प्रधामन्त्री कालमा केपी शर्मा ओलीको कार्यकाल सफल भएन्, भ्रष्टाचार बढ्यो, सुशासन भएन र उहाँमा निरंकुश प्रवृत्ति थियो भन्ने कुरा अहिले पनि आफू एकदमै प्रष्ट रहेको बताइन ।

ओलीका कारण धेरै विग्रिसकेको बदलाव ल्याउनका लागि धेरै मिहेनत गर्नु पर्ने समेत उनको धारणा छ ।

यस्तै शाक्यले सोमबार बालकोटमा भएको निर्णयक वार्तामा आफूहरूको मूल नेतृत्व ओली नै भएको बताएकी थिइन ।

‘मूल नेतृत्व तपाईं हो । समस्या समाधान गर्न तपाईं नै लाग्नुपर्छ । त्यसमा साथ दिन तयार नै छौं । साथ दिन तयार नभएको भए त हामी पनि कता कता जान्थ्यौं । आ–आफ्नो ढंगले हिँड्थ्यौ । हामी त गएका छैनौँ नि १’

पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान सक्ने शक्ती पार्टी अध्यक्ष ओलीमा भएको बताइन ।

‘नेतृत्वले राम्रो पनि गर्न सक्छ, नराम्रो पनि गर्न सक्छ । पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान पनि सक्छ । मूल नेतृत्व भनेको तपाईं हो । हामी पनि हो । हामी सबै हिसाबले साथ दिन्छौं । नेपालको कम्युनिस्ट आन्दोलन एक ढिक्का भएर एमालेले मात्रै बचाउन सक्छ, भन्ने सन्देश दिएर जुर्मुराएर उठौं ।’

बालकोट पुगेका नेताहरूसँग ओलीले १० बुँदे कार्यान्वयन अघि बढाउन प्रस्ताव गरेका थिए । शाक्यले ओलीले बैठक बसेर छलफल अगाडि बढाऔं भनेको कुरा सकरात्मक भएको बताइन् । विगतमा कसले के गर्यो भन्ने कुरा बिर्सेर पार्टी जोगाउनु पर्ने शाक्यको भनाइ थियो ।

‘हिजो कहाँ के–के भयो सबै छाड्दिनुहोस् । त्यता जाँदा फेरि पनि घाउ बल्झिन्छ, त्यता नजाँदा नै राम्रो हुन्छ’, उनले भनिन् ।

माधव नेपालले नयाँ पार्टी बनाउन हतार गरेको शाक्यले बताइन् ।

‘माधव नेपाल यति छिटो नजानुपर्ने हो । हामी त पर्खेका छौं । युवाहरू पर्खेका छन् । माधव नेपाललाई ल्याउनैपर्छ, एकताबद्ध बनाउनैपर्छ । वामदेव गौतम अस्तिको बैठकमा आउनुभयो भन्ने छ । झलनाथ कमरेड बिरामी हुनुहुन्छ । जो–जो नेताहरू हुनुहुन्छ, सबै एकताबद्ध भएर जुरूक्क उठ्नुपर्छ’, छलफलमा शाक्यले भनिन् ।

प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार  २ : ३२ बजे