एमाले विभाजनपछि माधव कुमार नेपाल अध्यक्ष रहेको प्रस्ताविक नेकपा (एकीकृत समाजवादी) मा एमालेमा कतै नखुलेका तीन जना नेताहरु नयाँ पार्टीमा पुगेका छन्। मंगलबार थप दुई जना केन्द्रीय सदस्य र एक सांसद नेपालको नेकपा एकीकृत समाजवादी आएका हुन् ।
मंगलबार केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, संघीय सांसद शारदा भट्ट र प्रदेश १ का सांसद राजन राई आएसंगै आयोगमा नाम थप गरिएको हो। यसअघि उनीहरु माधव नेपालकै क्याम्पमा भए पनि पार्टी दर्ताका लागि निवेदन दिँदासम्म खुलेका थिएनन्।
तीनजना थप गर्न मंगलबार राजेन्द्र पाण्डे र राजन राई निर्वाचन आयोग पुगेर पुनः चन्द्रागिरि फर्किएका छन्।
यससँगै माधव नेपालको पक्षमा लाग्ने एमालेका ३२ सांसद र ६० जना केन्द्रीय सदस्य भएका छन्। ती मध्य ४६ जना सोमबार साँझ चन्द्रागिरि पुगेका थिए। केही मंगलबार बिहान पुगेका छन्।
एमालेले नेपालसहित ९ जना केन्द्रीय सदस्य तथा १४ जना सांसदलाई दल दर्ताको निवेदन दिनुअघि नै निष्कासन गरिएको भन्दै उनीहरूको हस्ताक्षर मान्यता नदिन आयोगलाई आग्रह गरेको छ ।
एमाले निर्वाचन आयोगका प्रमुख अग्नि खरेलले आयोगमा पुगेर हस्ताक्षर नगरेकाको सनाखत नलिन र कारवाहीमा परेका १४ जनाको समेत हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका छन् ।
केन्द्रीय सदस्य प्रदीप नेपाल र खगेन्द्र चुँडाल भने बिरामी भएकाले चन्द्रागिरिको बैठकमा सहभागी भएका छैनन्। बुधबार आयोगले सनाखतका लागि बोलाएपछि दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) का नेताहरु नियमावली, विधान र घोषणा पत्रबारे छलफलमा जुटेका छन्।








