बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्।
मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुख्यमन्त्री शाक्यलाई बधाई दिएका हुन्।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकमा ओलीले भने, “संघीय गणतान्त्रिक नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नु भएकोमा अष्टलक्ष्मी शाक्यलाई बधाई दिन चाहन्छु।”
यता एमाले पूर्वमहासचिव माधव कुमार नेपालले आजै शाक्य आफूहरूसँगको सहमतिमै मुख्यमन्त्री बनेको बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) गठन गरेका नेता नेपालले चन्द्रागिरी रिर्सोटमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै शाक्यले मुख्यमन्त्री बन्नुअघि आफूसँग सहमति लिएको बताएका थिए।
नयाँ दल दर्ताका लागि सनाखत गर्न ९ भदौमा निर्वाचन आयोगमा जान लागेका नेपाल पक्षका नेताहरूको अहिले चन्द्रागिरीमा बैठक जारी छ।
यसअघि नेपालको पक्षमा रहेका शाक्यसहित भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, अमृतकुमार बोहरा, भीम आचार्य, रघुजी पन्त लगायतका नेताहरू स्थायी कमिटी बैठकमा सहभागी भएका छन्।








