एमाले केन्द्रीय कमिटी बैठक शुरु



नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको छ ।

एमालेबाट फुटेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो ।

१० बुँदे सहमति कार्यान्वयनको सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने, १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे बैठकमा छलफल हुनेछ ।

यसैबिच एमालेको केन्द्रीय कमिटी बैठकमा बामदेव गौतम अनुपस्थित भएका छन् । बिचार नमिलेको भन्दै गौतम बैठकमा सहभागी नभएका हुन् ।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठकमा उनी यसअघि पनि अनुपस्थित थिए । स्थायी कमिटी बैठकमा समेत अनुपस्थित हुँदै आएका गौतम माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समेत आफू नरहेको बताउँदै आएका छन् ।

उनले केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएको बताएका छन् ।

प्रकाशित मिति : भदौ १०, २०७८ बिहिबार  १ : १२ बजे