१८ गते सबै वडामा अधिवेशन हुनुपर्छ : पौडेल समूह



नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको सस्थापन इतर समुहको बैठकले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

शुक्रबार बसेको रामचन्द्र पौडेल समूहको बैठकले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिदै साँझसम्म सभापतिलाई भेट्दै ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ ।

पार्टी कार्यालय, सानेपामा रिले अनसनमा बसेका जिल्ला सभापतिको माग सम्बोधन गर्न पनि सभापतिको ध्यानाकषर्ण गराइने बताए ।

बैठकपछि प्रतिक्रिया दिदैं कांग्रेस नेता डा. मिनेन्द्र रिजालले महाधिवेशन तोकिएकै मितिमा सुरु गर्न देखिएका व्यवहारिक कठिनाई समाधानका लागि अग्रसरता लिने निर्णय भएको जानकारी दिए ।

‘अधिवेशनको प्रक्रियामा केही व्यवहारिक कठिनाईहरु आएका छन् । तिनलाई समाधान गर्नुपर्छ । केही सभापतिहरु क्रियाशील सदस्यताको विषयमा धर्नामा हुनुहुन्छ । हिजो अबेर केही जिल्लाको सार्वजनिक भएको छ । अरु जिल्लाको सन्दर्भमा हामीले गरेका निर्णयको कार्यान्वयन गर्नुपर्नेछ । यी सबै कठिनाई समाधान गरेर अधिवेशन सुनिश्चित गर्न पार्टी सभापतिसंग संवाद गर्ने निर्णय भएको छ’, रिजालले पत्रकारहरुसँग भने ।

प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार  १२ : ०७ बजे