नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउने उद्देश्यले आफू पार्टी सभापति हुन खोजेको बताएका छन् ।
शुक्रबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पर्क कार्यालयको शुभारम्भ गर्दै निधिले कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको बताएका हुन् ।
निधिले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।’
आफ्नो लक्ष्य आगामी चुनावमा सबै तहमा कांग्रेसलाई बहुमत दिलाउनु भएको उनले बताए । उपसभापति निधिले अघि भने, ‘म कसैलाई पराजित गर्न, असक्षम घोषित गर्न वा रिटायर्ड गर्न सभापति हुन लागेको होइन ।’
निधिले क्रियाशील सदस्यता विवादमा जिल्ला सभापतिहरुले गरिरहेको अनसन प्रति समर्थन समेत जनाए।
‘जिल्ला सभापतिहरूको माग ठीक हो। सबैले थाह पाउनुपर्छ क्रियाशील सदस्यताको सूची’ उनले भने।
धार्मिक पूजा गर्दै सम्पर्क कार्यालय उद्घाटन गर्न पुगेका निधिले युवालाई कांग्रेसमा स्थान दिन आफूले उम्मेदवारी दिन लागेको समेत बताए।








