प्रदेश १ का मुख्यमन्त्री संकटमा, कांग्रेसले सरकारको नेतृत्व गर्ने



नेपाली कांग्रेसले प्रदेश १ मा सरकारको नेतृत्व दावी गर्ने भएको छ । प्रदेश १ मा एकल बहुमत रहेको नेकपा एमालेका १० सांसदले पार्टी छोड्ने भएपछि कांग्रेसले नेतृत्वमा दावि गर्ने भएको हो ।

कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सरकारमा आफुहरुको दाबी स्वभाविक भएको बताएका हुन् । उनले सरकार फेरबदल हुने अवस्थामा प्रमुख प्रतिपक्षी दलले नेतृत्व दाबी गर्नु स्वभाविक भएको भन्दै एमालेबाहेकका अन्य दलसँग अहिले छलफल भइरहेको बताए ।

प्रदेश १ को प्रदेसभामा कुल ९३ प्रदेशसभा सदस्य छन् । जसमा ५१ जना सांसद रहेको एमाले विभाजन भएपछि बहुमत गुम्ने निश्चित छ ।

केन्द्रमा एमालेका तत्कालिन वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेपछि यसको असर प्रदेश १ मा पनि देखिएको हो ।

दल विभाजनका लागि ल्याइएको अध्यादेशमा प्रदेशमा पनि दल विभाजनको २१ दिनभित्र प्रदेशसभामा रहेका पार्टीका सांसदहरुले कुन पार्टी रोज्ने भन्ने निर्णय लिन पाउने उल्लेख छ । त्यहीं व्यवस्थाअनुसार नेपाल नेतृत्वको समाजवादी पार्टीमा एमालेका १० जना सांसद जाने निश्चित छ ।

नेता नेपालको पार्टीमा १० जना सांसद गएमा एमालेको प्रदेश सभामा ४१ सांसद बाँकी रहन्छन् । तर बहुमतका लागि ४७ सांसद चाहिन्छ । प्रदेश १ मा कांग्रेसका २१, माओवादीका १५, जनता समाजवादी पार्टी (जसपा)को ३ र अन्य साना दुई दलको १–१ सांसद छन् ।

तिन अघि मुख्यमन्त्री बनेका एमालेका भिम प्रसाद आचार्य एमालेका १० सांसदले दल परित्यग गरेसंगै संकटमा परेका छन् ।

 

प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार  १ : ०४ बजे