कम्यूनिष्टको गढ मानीएको जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ६ मा नेपाली कांग्रेसको लहर छाएको छ । आज एक सार्वजनि कार्यक्रम गरी नेकपा एमाले र एनेकपा माओवादीमा आवद्ध स्थानीय नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
चम्पादेवी ६ घोराखोरी स्थित डडुवा, चनौटे, निवुवाबोटे,अमवोट, सल्लेपानी लगायतका भूगोलबाट नेकपा एमाले तथा माओवादीका ४ दर्जन नेता कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस चम्पादेवी गाउपालिका सचिव सुजन पौडेलले जानकारी दिनुभयो । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा गाउपालिकाले राखेको भेटघाट कार्यक्रममा स्थानीय कम्यूनिष्ट नेताहरु चन्द्र बहादुर थापा, सन्तोष कार्की, अनिस काकीृ,कालिदास श्रेष्ठ, रामकृष्ण खड्का, पदम खड्का, दान बहादुर कार्की, सूर्य थापा लगायत ५१ जना नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा समाहित भएका पौडेलको भनाइ छ ।
नव प्रवेशीहरु लाई नेपाली कांग्रेसका जिल्ला सचिव तथा चम्पादेवी गाउपालिका प्रमुख नवराज केसीले अविर तथा खादा लगाएर स्वागत गर्नुभयो । उनिहरुलाई स्वागत गर्दै पार्टी सचिव केसीले लोकतान्त्रीक पार्टीमा लागेर सधै न्यायको पक्षमा उभिन र पार्टीले दिएको जिम्मेवारीलाई पुरा गर्न अनुरोध गर्नुभयो । गत स्थानीय तहको निर्वाचनमा एनेकपा माओवादीले जितेको वडा बाट विद्रोह गरेर कम्यूनिष्टको किल्ला तोड्दै कांग्रेसमा प्रवेश गर्नु पर्ने परिस्थिति कम्यूनिष्टहरुले नै सृजना गरेको नव प्रवेशी युवा सन्तोष कार्कीले बताउनुभयो ।
नेपाली समाजमा लोकतान्त्रीक विचार, सिद्धान्त मूल्य र मान्यता नै सबैभन्दा ठुलो विचार भएको भन्दै कम्यूनिष्टहरुको नितिबाट स्थानीय नागरिकहरु अजित भएको उनिहरुको भनाइ छ । धेरै मानीसहरु एमाले माओवादीका गतिविधि देखि दिक्दार भएका र विस्तारै गाउनै कांग्रेसमय बन्ने नव प्रवेशी मध्यका एक चन्दै थापाले बताउनुभयो ।
पार्टीको आन्तरिक निर्वाचनको सन्दर्भमा गरिएको गाउँको भेटघाटका क्रममा एमाले र माओवादीमा आवद्ध स्थानीय नेता कार्यकर्ताहरुले कम्यूनिष्ट प्रतिको असन्तुष्टि व्यक्त गर्दै कांग्रेसमा प्रवेश गर्न चासो देखाएपछि उनीहरुलाई औपचारिक कार्यक्रम नै नगरी कांग्रेसमा आबद्ध गराइएको गाउपालिका अध्यक्ष केसीले बताउनुभयो । सो अवसरमा नेपाली कांग्रेस चम्पादेवी गाउँपालिका सभापति रुद्रप्रसाद घिमिरे, सचिव सुजन पौडेल, वडा सभापति अशोक खड्का, नेपाल विद्यार्थी संघका जिल्ला सदस्य मनोज बुढाथोकीलगायतको सहभागिता रहेको थियो ।








