नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका वाग्मती प्रदेशका १२ सांसद एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी)पार्टी रोज्दै सनाखत गरेका हुन् ।
सांसद बसुन्धरा हुमागाईंका अनुसार अझै केही सांसदहरु थपिने छन् । ‘हामी पहिलो चरणमा जम्मा भएका साथीहरुले सनाखत गरेका हौं । अझै साथीहरु थपिनुहुनेछ,’ हुमागाईंले भने । उनले नवगठित पार्टीमा वाग्मती प्रदेशका २१ जना सांसदहरु रहेको दाबी गरे ।
प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका कृष्ण शर्मा खनालले पनि सनाखत गर्ने सांसद हुमागाईंले बताए । खनाल अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन मन्त्री बनेका थिए । उनी कार्यालय पुगेका छैनन् ।
‘म नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यकर्ता हुँ । मन्त्रालयको काम भएर केही समय अड्किएको हुँ । निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गर्छु । आजै गर्छु,’ मन्त्री खनालले भने ।
१२ जना सांसदहरुले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ ।
को को हुन् १२ सांसद ?
राजेन्द्र पाण्डे
राजेन्द्रमान श्रेष्ठ
लक्ष्मण लम्साल
बसुन्धरा हुमागाईं
रमा आले मगर
बसन्त मानन्धर
कुसुम कार्की
पार्वती सिलवाल
इन्द्रमाया गुरुङ
मुनु सिग्देल
माधव पौडेल
कृष्ण खनाल








