जसपा अध्यक्ष यादव जनकपुरधाममा



जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम पुगेका छन् । जनप्रतिनिधिलाई आफ्नो दलमा सनाखत गराउन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु गएको भोलिपल्ट यादव जनकपुरधाम पुगेका हुन् ।

बुधबार लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरु जनकपुरधाम पुगेका थिए ।

ठाकुरसहितका नेताले आफ्नो पार्टीमा सनाखत गराउन प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरिरहँदा यादव पनि जनकपुरधाम आएका हुन् ।

यादव नेतृत्वको तत्कालीन फोरम नेपालबाट निर्वाचित प्रदेश सांसद प्रल्हाह गिरी गोस्वामीले लोसपा रोजिसकेका छन् । अध्यक्ष यादवले जसपाका प्रदेश सांसदसँग यसबारे छलफल गर्ने बताइएको छ ।

जनकपुरधाम आएका यादवले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै भदौ २२ गतेपछि मात्र मन्त्रिपरिषद् विस्तार गरिने बताए । भदौ २२ गतेपछि मन्त्रिपरिषद् विस्तार गर्नेबारे गठबन्धनमा सहमति भएको उनले बताए ।

प्रकाशित मिति : भदौ १७, २०७८ बिहिबार  १ : ४५ बजे