नेपाली कांग्रेसका सभापति एबम प्रधानमन्त्री शेरबहादुर दउवाले एमाले नेता महेश बस्नेतलाई आउने चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।
शुक्रबार भक्तपुरको सूर्यविनायकमा वडा अधिवेशनको उद्घाटन गर्न पुगेका देउवाले बस्नेतको नाम लिँदै जिल्ला सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउन चुनौती दिएका हुन् ।
देउवाले भने, ‘कांग्रेस सशक्तरूपमा अघि बढेको छ । महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन् । बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’
भक्तपुर क्षेत्र नम्बर २ मा बस्नेतले २०७४ सालको आम निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गरेका थिए ।
केही दिनअघि उनले भक्तपुरमा अब कांग्रेस शिला खोज्नुपर्ने भन्दै सभापति देउवालाई आफूसँग चुनाव लड्न चुनौती दिएका थिए ।
आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने जिम्मेवारी आफूहरुलाई रहेको पनि देउवाले बताएका छन् ।
देउवाले महामारी बढ्दो क्रममा रहेकाले आफ्नो स्वास्थ्यलाई समेत ध्यानमा राख्न आग्रह गरेका छन् । ‘मास्क लगाउनुस् । सामाजिक दूरी कायम गर्नुहोस् । कोरोनाको बेला छ, आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर महाधिवेशनमा सहभागी बन्नुस्,’ देउवाले आग्रह गरे ।
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार ५६ जिल्लामा वडातहको अधिवेशन सुरु हुदैछ । भक्तपुरमा पनि शुक्रबारबाटै अधिवेशन सुरु भएको छ । ‘सहमतिबाट नेतृत्व चयन गर्ने कुरा हो । हामीले आजैबाट अधिवेशन सुरु गर्यौँ । चुनाव अवस्था भए २१ गते चुनाव गर्ने र अधिवेशन सक्ने तयारी छ,’ सभापति दुर्लभ थापाले भने ।








