निजामती कर्मचारीलाई प्रदेश प्रमुख गुरुङको शुभकामना



गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले निजामती राष्ट्रसेवक कर्मचारीहरूलाई उच्च मनोवल र उत्प्रेरणाका साथ आफ्नो कर्तव्य यात्रामा कटिबद्ध रहन शुभकामना दिनुभएको छ ।

व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’नाराका साथ मनाउन लागिएको १८ औं निजामती सेवा दिवसका आवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रमुख गुरुङले आफनो पेशागत दक्षतालाई अक्षुण राख्दै देश र जनताप्रति समर्पित निजामती सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवम् जिम्मेवारीसहितको सार्वजनिक सेवा भएकाले सरकार र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको बताउनु भयो ।

उहाले राज्यका नीति, योजना र कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको उल्लेख समेत गर्नुभएको छ ।

प्रदेश प्रमुख गुरुङले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता हो भन्दै निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्छौं भन्नु भयो ।

राष्ट्रसेवक कर्मचारीमा आँफू साधनस्रोतको परिचालन एवम् शक्तिको प्रयोग गर्ने शासक नभै आम सर्वसाधारणको सेवक हुँ भन्ने भावना जागृत हुनु अपरिहार्य छ भन्दै प्रदेश प्रमुख गुरुङले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई निरन्तर रुपमा जनताको सेवामा लागिरहने प्रेरणा सहित मुलुकको विकास र सुशासनको लागि पारदर्शी तथा जवाफदेही भई जनताको सेवा गर्ने अवसर मिलोस भनि शुभकामना दिनु भएकोछ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : २१ बजे