कांग्रेसले गठन गर्यो ‘एनसी विन’, के गर्छ काम ?



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले वाइड इन्फरमेसन नेटवर्क गठन गरेको छ ।

कांग्रेसले सोमवार सूचना,संचार तथा प्रचार विभागको भर्चुअलरूपमा सम्पन्न भएको बैठकबाट एनसी वीन गठन भएको हो ।

प्रचार विभागका प्रमुख प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा भदौ २१ मा बसेको बैठकबाट उक्त संरचना बनाइएको हो।

ईञ्जिनियर दिपेश विष्टको संयोजकत्वमा एनसी विनको २७ सदस्यीय संरचना र सातै प्रदेशमा फरकफरक संरचना निर्माण गरिएको छ।

पार्टीको प्रविधि सम्बन्धी र सामाजिक सञ्जाल समन्वयका कार्यमा सरिक हुन एनसी विन गठन गरेको प्रचार विभागले जनाएको छ।

‘यो संरचनाको अल्पकालीन काम– स्थानीय, प्रदेश र संघको आगामी महानिर्वाचनमा प्रविधि र आन्तरिक रणनीतिमार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद (‘वार रुम’ को संगठित अवधारणा बमोजिम) को कार्यमा महाधिवेशनपछिको पार्टीको प्रचार विभागलाई सहज बनाउने’ रहेको विभागका सचिव दिनेश थापा मगरले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो संरचनालाई पार्टीको विभिन्न तहलाई प्रविधिमार्फतको सहजीकरण र सामाजिक संजालमार्फत् सकारात्मक प्रभावका लागि दीर्घकालीन उपयोगमा पनि केन्द्रीय गर्ने विभागले जनाएको छ।

यस्तै विभागले ‘प्रविधि मैत्री कांग्रेस’ अभियान अन्तर्गत एनसी विन गठन गरिएको उल्लेख गरेको छ। महाधिवेशन पूर्वसन्ध्यामा विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम आयोजना गर्नेसमेत निर्णय बैठकले गरेको छ।

विभागले कांग्रेसको १४ औं महाधिवेशनको नारा पनि तय गरेको छ। ‘कांग्रेसमा उत्साह, एकता र रूपान्तरण, सफल बनाऔं १४ औं महाधिवेशन’ नारा तय गरिएको विभागले जनाएको छ।

साथै ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख सुरेश आचार्यलाई दिइएको छ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : ५२ बजे