महाधिवेशन प्रतिनिधि देउवा पुत्र !



प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि सक्रिय राजनीतिमा आएका छन्। जयवीरले गृह जिल्ला डडेल्धुराबाट क्रियाशील सदस्यता लिएका हुन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ जयवीर क्रियाशील सदस्य छन्। उनको नयाँ क्रियाशील सूचीको १६६ नम्बरमा नाम छ।

कांग्रेसबाटै निर्वाचित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चेतराम भट्टले जयवीर पनि क्रियाशील सदस्य रहेको बताए। उनकाअनुसार जयवीर गाउँ भने आएका छैनन्। भदौ २५ गतेका लागि सारिएको अधिवेशन पनि स्थगित भएको छ ।

वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भए भने जयवीर यसपालि महाधिवेशन प्रतिनिधि आउने सम्भावना रहन्छ। कांग्रेस सभापति देउवाको क्रियाशील सदस्यता पनि गन्यापधुरा वडा नम्बर १ बाटै छ।

सभापति देउवा भने क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि भइराख्नु पर्दैन। पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने गरी कांग्रेसले विधान बनाएको छ।

क्रियाशील सदस्य बनेसँगै जयवीर सक्रिय राजनीतिमा आउने अनुमान गरिएको छ। २६ वर्षीय जयवीरले बेलायतमा युनिभर्सिटी अफ योर्कबाट उनले राजनीति शास्त्रमा एमए गरेका छन्।

कांग्रेसमा यसपालि ९ लाख क्रियाशील सदस्य छन् तीमध्ये तीन लाख हाराहारीमा युवाहरू समेटिएका छन्।

डडेल्धुरा कांग्रेस सभापति कर्णबहादुर मल्लले पनि जयवीर यसपालि क्रियाशील सदस्य भएको बताए।

सभापति मल्लका अनुसार डडेलधुरामा जिल्लाबाट नाम पठाइएका पाँच सय जनाको नाम क्रियाशीलको सूचीबाट हटाइएको पाइएको छ। यसमा आफूहरूले विरोध गरेको मल्लले बताए।

‘केन्द्रीय सभापतिले नै हस्तक्षेप गरेर पाँच सय जनाको नाम हटाइएको र तीन सय जना नयाँ थपिएको पाइएको छ। अधिवेशनबारे यहाँ विवाद छ,’ उनले भने।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ३६ बजे