लगानीको वातावरण तयार पार्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा



प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा उपयुक्त वातावरण निर्माण गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित लगानी बोर्डको दशौँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वानसमेत गर्नुभयो ।

नेपालले लिएको दीगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले लगानीको वातावरण तयार पार्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।

उहाँले वैदेशिक लगानीको पहिचान र खोजी गरी नेपालमा लगानी गर्न सकिने बताउनुभएको छ । सम्मेलनमार्फत प्रत्यक्ष लगानीको पहिचान गरेर नेपाल भित्र्याउन सकिनेमा आफू आशावादी रहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले सरकारी निकाय, निजी क्षेत्रलगायतको सहकार्यमा लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

सङ्घीय नेपालको संरचना साझेदारीमा मात्रै विकास सम्भव हुने विचार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “राजनीतिक परिवर्तनपछि अब आर्थिक विकासमा मुलुक केन्द्रित भएको छ ।”

ठूला र महत्वपूर्ण राष्ट्रिय परियोजना पनि सार्वजनिक, निजी साझेदारीमा अघि बढाउनुपर्ने महसुस सरकारले गरेको प्रधानमन्त्रीको भनाइ थियो । त्यसका लागि नेपाल सरकारकोतर्फबाट आवश्यक सहयोग र समन्वय हुने उहाँले बताउनुभयो । आपसी साझेदारीबाट नै त्यस्ता परियोजनाको व्यवस्थापन गर्न सकिनेमा उहाँको जोड थियो ।

नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले त्यसका लागि नेपालले दिगो विकास लक्ष्यको अवधारणालाई पूर्णरुपमा पालना गरेर अघि बढिरहेको छ भन्नुभयो । उहाँले उक्त लक्ष्य पूरा गर्न नेपालले आर्थिक वृद्धिमा रहेको दूरी हटाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रधानमन्त्री देउवाले मुलुकको विकासका लागि निजी क्षेत्रको लगानी परिचालन गर्नुपर्ने र त्यसका लागि सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कोभिड–१९ महामारीका कारण लगानीको वातावरण बनाउनु र त्यसको सही सदुपयोग गर्नु चुनौतीपूर्ण विषय रहेको पनि उहाँले बताउनुभयो । तथापि वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन नीतिगतरुपमै अघि बढेको प्रधानमन्त्रीले जानकारी गराउनुभयो । कठिन परिस्थितिमा पनि विभिन्न उद्योगले आपसी सहकार्य गरेर काम गरिरहेको भन्दै उहाँले त्यसको प्रशंसा गर्नुभयो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : ४६ बजे