नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले विहीबार राजीनामा दिएका छन् ।
पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ नदिँएकाले समितिमाथि अनावश्यक दबाब दिएको भन्दै यादवले राजीनामा दिएका बुझिएको छ ।
कांग्रेसले भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ ।
जसका कारण भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने देखिएको छ ।
उक्त कार्यतालिका अनुसार अधिवेशन गराउने कुरामा पार्टीका नेताहरुबाट सहयोग भन्दा झमेला थप्ने काम भएको निर्वाचन समितिको गुनासो छ ।
महाधिवेशन प्रक्रिया जारी रहेका बेला यादवले दिएको राजीनामा स्वीकृत हुन्छ हुँदैन यकिन छैन । तर नेताहरुको अनावश्यक दबाबका कारणले यसअघि राधेश्याम अधिकारीले पनि निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका थिए ।
गत चैत १६ गतेबाट अधिकारीले निर्वाचन समितिको जिम्मेवारी छोडेका थिए । अधिकारीको ठाउँमा आएका यादवले पनि महाधिवेशन सम्पन्न नगराइ राजीनामा बुझाएका छन् । काँग्रेस महाधिवेशनमा यसले थप अन्योलता उत्पन्न गराएको छ ।