मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमसिसीलाई सहमति बनाएरमात्रै पारित गर्नुपर्छ : अध्यक्ष प्रचण्ड



सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीलाई राष्ट्रिय सहमति बनाएरमात्रै पारित गर्न सकिने बताएका छन् । नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारसँग भेट्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

सुमार प्रचण्डलाई भेट्न शुक्रबार बिहान उनको निवास खुमलटारमा पुगेपछि प्रचण्डले एमसिसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए।

‘राष्ट्रिय बहस भएको कुरामा राष्ट्रिय सहमति बनाउनु पर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले भने,‘सत्तारूढ गठबन्धनका दलहरूबीच पनि यसबारे सहमति बनाउनु पर्छ।’

माओवादी केन्द्रभित्र एमसिसी पारित गर्नै नहुने र संशोधन गरेर पारित गरे पनि हुने दुई धार छ।

यसअघि सुमारले बिहीबार प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेटेकी थिइन्।

सुमारले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : ५१ बजे