एमाले सांसदले गरे संसदमै टेबुल तोडफोड



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा मर्यादापालकहरुबीच संसद् भवनमा भएको घम्साघम्सी भएको छ । शुक्रबार बसेको बैठकमा एमालेका सांसद र मर्यादापालकहरुबीच भएको घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको हो ।

एमालेका सांसदहरुको नाराबाजीका कारण पहिलो बैठक १५ मिनेट स्थगित गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलका सांसदबाट निरन्तर नाराबाजी र विरोध भइरहँदा सभामुख अग्निप्रसाद सापकोटाले सहज रुपमा सदन चल्ने वातावरण निर्माण गर्न पटकपटक अनुरोध गरेका थिए ।

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली कार्यान्वयन गर्ने दायित्व सबैको रहेको र जनताको प्रतिनिधिमूलक थलो संसद्मा आफ्ना धारणा, दृष्टिकोण राख्ने अवसर प्रदानगर्न आग्रह गरेका हुन् ।

यद्यपि, नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको सदनलाई जानकारी गराए ।

सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय दिएका थिए । त्यस समयमा एमालेका सांसद र मर्यादापालकहरुबीच घम्साघम्सी सुरु भएको थियो । पहिलो लहरमा कांग्रेसका महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव रहेका थिए ।

घम्साघम्सीमा कांग्रेसका सांसदहरुलाई जोगाउन दिलेन्द्रप्रसाद बडू र देवप्रकाश तिमल्सिनामा अगाडि गएका थिए । टेबुल भाँचिएपछि कोइराला, सिंह र यादवपछिको लहरमा बस्न गएका थिए ।

प्रकाशित मिति : भाद्र २५, २०७८ शुक्रबार  २ : २९ बजे