सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे छलफल केन्द्रित रहेको जनाइएको छ।
चार दिने नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेपछिको अवस्थामा बैठक बसिरहेको हो।
यस्तै दुई महिनालामो समय हुँदा पनि गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सरकारले पूर्णता नपाउँदा सबैतिरबाट आलोचना हुँदै आएको छ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता छ।