एमाले संसदीय दलको बैठक जारी



नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा आज बस्ने संसद बैठकमा एमालेको भूमिकाबारे छलफल भइरहेको सांसद गणेश पहाडीले जानकारी दिए ।

सभामुख अग्नि सापकोटाको भूमिकामा प्रश्न उठाउँदै संसदमा विरोध गर्दै आएको एमालेले सम्भवतः आइतबारको संसद बैठकमा पनि विरोध जारी राख्ने तयारी गरेको छ ।

आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको आक्रोशमा एमाले सांसदहरुले गत शुक्रबार प्रधानमन्त्री र गृहमन्त्रीको आसन अगाडिको माइक खोसेर सभामुखको आसनतर्फ प्रहार गर्ने कोसिस गरेका थिए ।

यता सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद्को विस्तार र सत्तापक्षको आगामी रणनीतिका बारेमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेता बस्नुभएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यस्तै नेकपा (एमाले)ले अवरोध गर्दै आएको संसद्लाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल हुने बताइएको छ ।

छलफलमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति छ । देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा हाल चार मन्त्री र एक राज्यमन्त्री हुनुहुन्छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १२ : ३५ बजे