सत्तारूढ गठबन्धन बैठक सकियो



बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले संसद्को अवरोध हटाउन विपक्षी दलसँग वार्ता गर्ने निर्णय गरेको छ ।

आइतबार करिव दुई घण्टा बसेको बैठकमा समयसामयिक राजनीतिक सबै विषयमा छलफल भए पनि प्राथमिकता भने संसद्को अवरोध हटाउने विषयले पाएको थियो ।

“संसद्को अवरोध हटाउने विषयमा विपक्षीसँग कुराकानी गर्ने भन्ने समझदारी भएको छ,” नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भने, “अन्य विषय जो विगतदेखि हुँदै आएका छन्, ती सबै विषयमा पनि कुराकानी भएको छ ।”

उनले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा भने कुनै निर्णय भइनसकेको जानकारी दिए ।

दलहरूबीच फेरि बैठक बस्ने र चाँडै मन्त्रिपरिषद्मा गठबन्धनको सहभागिताको विषय टुंग्याइने बताइएको छ ।

प्रकाशित मिति : भाद्र २७, २०७८ आईतबार  १२ : ४६ बजे