नियमित प्रक्रियाबाटै बजेट पास गर्ने सरकारको तयारी



अर्थमन्त्री जनार्दन शर्माले नियमित प्रक्रियाबाट बजेट पारित गरेर अघि बढ्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

जेठ १५ गते अघिल्लो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभएपछि स्वतः निष्क्रिय हुनेछ ।

तर पेश्की खर्च नगर्ने मन्त्री शर्माले बताए । ‘पेश्की खर्च हुँदैन, अध्यादेश पनि आउँदैन, विधेयक पास भएपछि नियमित प्रक्रियाबाटै खर्च हुन्छ’ उनले भने ।

संघीय सरकारको इतिहासमा पहिलो पटक बजेट होलिडे हुने पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् ।

सरकारी खर्च गर्न रोक लागे पनि राजश्व संंकलन गर्न अवरोध छैन । आर्थिक विधेयक संसदमा पेश भइसकेकाले सामयिक कर असुली ऐन २०१२ प्रयोग गरेर अध्यादेशअनुसारको कर संकलन हुनेछ । तर विनियोजन विधयेकमा परिर्वतन गरेको कर भने संकलन गर्न पाइने छैन ।

संवैधानिक निकायको खर्च, आन्तरिक तथा बाह्य ऋढण भुत्तानी पनि रोकिँदैन । यी खर्च भने संशोधित बजेट अनुसार नै गर्न पाइने पूर्वअर्थसचिव खनालले बताए ।

तर विनियोजन विधेयकको खर्च भने गर्न पाइँदैन । अर्थात सरकारी कोषबाट तलब भत्ता, नियमित खर्च सबै रोकिनेछ । ‘सरकारी कोषबाट खर्च गर्न पाइने छैन,’ खनालले भनेका छन् ।

सरकारी कार्यालयले आकस्मिक खर्च भने सापटी र धरौटीमार्फत चलाउन सक्छन् । स्वास्थ्य सेवा लगायत अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय भने बजेट होलिडेका कारण प्रभावित हुन सक्छन् ।

प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार  २ : १२ बजे