प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभए पनि कुनै समस्या नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले बजेट पारित नभएपनि खर्च गर्न समस्या नहुने प्रतिक्रिया दिएका हुन् ।
अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिनभित्र अर्थात भदौ ३० गतेसम्म संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न भने नपाउने भएको छ ।
तर संसद बैठक असोज ४ गतेका लागि बोलाइएको छ । बजेट पारित नभएपछि भदौ ३० पछिको सरकारी खर्च कसरी चल्छ भन्ने प्रश्नमा देउवाले जवाफ दिए, ‘हिजो जसरी चल्याथ्यो, त्यसैगरी ।’
अर्थमन्त्री जनार्दन शर्माले भने केही दिन खर्च गर्न कठिन भए पनि नियमित प्रक्रियाबाटै बजेट पारित गर्ने प्रतिक्रिया दिएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सरकारले बजेट पारित गर्न नसकेको हो ।