कांग्रेस अधिवेशनः सिन्धुपाल्चोकमा सभापतिका लागि आधा दर्जन आकांक्षी



नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् ।उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग छलफललाई तीब्रता दिएका हुन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेसको आउँदो महाधिवेशनमा जिल्ला सभापतिका लागि तयारी गरेको बताए । मङ्गलबार इन्द्रावती–४ को वडा अधिवेशन उद्घाटन गर्दै उनले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका हुन

गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिवसमेत रहेका तामाङले आफूलाई नेता तथा कार्यकर्ताको साथ रहेको बताए । “सभापति बन्नका लागि योग्य पनि छु, पार्टीका अन्य अग्रज नेताहरुको सल्लाह पनि छ, पार्टीभित्रकै साथीहरुको चाहना र इच्छाबमोजिम नेतृत्वका लागि तयार छु”, उनले भने ।

जिल्लामा हालसम्म धेरैले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, क्षेत्रीय सभापतिद्वय आइतमान तामाङ र बालकृष्ण बस्नेत, हालका जिल्ला सभापति विकास लामा, पूर्वसचिव कृष्णप्रसाद न्यौपाने, पूर्वसभापति भूपेन्द्र थापा, महासमिति सदस्य प्रेमध्वज लामासमेत सभापतिको आकाङ्क्षी देखिएका छन् ।पार्टीलाई एक ढिक्का बनाउन सहमतीय नेतृत्वको लागि छलफल चलाउन काँग्रेस कार्यकर्ताले चौतर्फी दबाब दिइरहेको नेपाली काँग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि सभापतिमा दाबी गरेका छन। देशभरका स्थानीय तहमा उत्कृष्ट काम गरेर चर्चित बनेका शेर्पा जिल्ला सभापतिको तयारीमा लागेका हुन । उनले केन्द्रमा जस्तै जिल्लामा पनि गुटैगुट भएर कांग्रेसको सङ्गठन नै धरापमा परेकाले आफ्नो उम्मेदवारी गुटरहित कांग्रेस बनाउन रहेको बताए ।

 

प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार  १ : २८ बजे