नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको तोकिएकै मितिमा हुने जनाएको स्पष्ट पारेको छ । शुक्रवार बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेकाले समयमै महाधिवेशन हुने बताएका छन् ।
‘जे निर्धारित समयका लागि केन्द्रीय महाधिवेशन निर्धारण गरेका छौं । त्यसबारेमा अहिले कसैलाई कुनै कन्फ्यूजन नराख्नका लागि र बैठकमा महाधिवेशन मंसिरबाट अलि पछाडि जाने हो कि कसैले प्रस्ताव पो राख्नु भयो कि भनेर खास गरी महामन्त्रीज्यूको नाम भनेर पनि आयो,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले भने, ‘त्यो प्रकारको विषयमा अहिले हामी गएका छैनौं । त्यो प्रकारको विषयमा जानुपर्ने खण्ड आयो भने पनि केन्द्रीय समितिमा हामी विधिवत् रुपमा जान्छौं ।’
बैठकले भोलि शनिवार निर्धारित समयमै पार्टीको पालिकास्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।








