नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टि कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
नेता लिलामणि पोखरेलका अनुसार मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण एक दिन पछि सारिएको हो । बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्ने तयारी छ ।
पार्टीले यसअघि नै राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम तोकिसकेको छ । सोमबार बसेको बैठकले सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म, वडा भेलाको बैठक कार्तिक १३ गते र पालिका स्तरीय भेला मंसिर ४ गतेसम्मलाई सारेको थियो ।
बैठकले मन्त्रीको नाम तय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ । माओवादीले अब पाँच मन्त्रालय पाउनेछ ।
जसमा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, मातृका यादव, अमनलाल मोदी, शिवकुमार मण्डल, शशी श्रेष्ठ र जयपुरी घर्ती मध्यबाट मन्त्री बनाउने गरी दाहालले आन्तरिक छलफल गरिरहेको दाहाल निकट एक नेताले जानकारी दिए ।
ति नेताका अनुसार माओवादी नेता नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने सूचीबाट हटेका छन् ।








