एमालेको केन्द्रीय कार्यालय च्यासल सारिँदै



नेकपा एमालेको पार्टी कार्यालय ललितपुरको च्यासलमा सारिने भएको छ।अ हिले रहेको थापाथली हाइटस्थित भाडाको कार्यालय साँघुरो र आउन जानसमेत जामको समस्या भएपछि च्यासलमा सार्न लागिएको हो।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा पार्टी कार्यालय दशैँपछि सारिने एकजना स्थायी कमिटी सदस्यले बताए। ‘यहाँबाट कार्यालय सारेर तुल्सीलाल स्मृति प्रतिष्ठानमा लगिँदैछ,’ ती नेताले भने, ‘विधान महाधिवेशन सकिएर सायद दशैँपछि सर्छ होला।’

च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुन्। प्रतिष्ठानमा अहिले गोपाल शाक्य अध्यक्ष छन्। तुल्सीलालमा एमालेका प्राय सबै नेताहरुको गाडी अट्ने ठाउँ छ। तीनवटा भवन रहेकोले कार्यालयका सबै विभाग राख्न समेत सजिलो छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृतिमा कार्यालय राख्नेगरी सहमति लिइसकेका छन्। १३ रोपनी जग्गामा फैलिएको तुल्सीलालको १० रोपनीमा भवनसहित पार्किङ छ। च्यासल फुटबल ग्राउण्डसँगै तीन रोपनी जग्गा खाली छ।

एमालेले त्यही खाली रहेको जग्गामा बाँकी पार्किङ बनाउन खोजेको हो। अहिले एमालेका केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक तुल्सीलाल प्रतिष्ठानकै भवनमा भइरहेका छन्।

प्रकाशित मिति : आश्विन १४, २०७८ बिहिबार  ३ : २८ बजे