परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण नगरेको चीनको दाबी



चीनले केही महिनाअगाडि ध्वनिभन्दा तीव्र वेग भएको परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचारको खण्डन गरेको छ।चीनले नियमित रूपमा अन्तरिक्ष यानको परीक्षण गरेको दाबी गरेको छ।फाइनान्सीयल टाइम्स पत्रिकामा चीनको क्षेप्यास्त्र परीक्षणका खबरहरूले छापिएका थिए।

वाशिङ्गटनका स्रोतहरू उल्लेख गरेर छापिएको खबरमा परीक्षणले अमेरिकी अधिकारीहरूलाई चिन्ताग्रस्त्र बनाएको विवरण थियो।चीनको बढ्दो परमाणु क्षमताबारे पश्चिमा देशहरूमा चिन्ता बढ्दै गर्दा पछिल्ला खबर आएका हुन्।

सोमवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जुलाईमा परीक्षण गरिएको सो खबर असत्य भएको बताए।त्यो क्षेप्यास्त्र थिएन। त्यो अन्तरिक्ष यान थियो। अन्तरिक्ष यानको प्रयोगको खर्च घटाउन यो महत्त्वपूर्ण छ,ू प्रवक्ता जाओ लिजियानले भने।

हाइपरसोनिक क्षेप्यास्त्र आवाजभन्दा पाँच गुणा बढी गतिका हुने र तिनलाई रोक्न अन्य क्षेप्यास्त्रलाई भन्दा कठिन हुने बताइन्छ।बलिस्टिक क्षेप्यास्त्रभन्दा कम गतिको भए पनि हाइपरसोनिक क्षेप्यास्त्रको मार्ग नियन्त्रण गर्न सकिने बताइन्छ।चीन, अमेरिका, रुस तथा कम्तीमा पाँच अन्य देशहरूले हाइपरसोनिक क्षेप्यास्त्र प्रविधिमा काम गरिरहेका छन्।त्यस्ता क्षेप्यास्त्रले परमाणु क्षमताका हतियार बोक्न सक्छन्।

प्रकाशित मिति : कार्तिक २, २०७८ मंगलबार  १० : १४ बजे