मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस प्रदेश १ अधिवेशन : सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा आकांक्षी, घिमिरे अघाडि



नेपाली कांग्रेसले १४औं महाधिवेशनबाट संघीयताको अभ्यास गर्दैछ । आफ्नै नेतृत्वको सरकारले बनाएको संविधानको ६ वर्षपछि मात्र कांग्रेसले पार्टीको प्रदेश संरचना निर्माण गर्न लागेको हो ।जसअन्तर्गत प्रदेश १ मा शुक्रबार अधिवेशन उद्घाटन हुँदैछ । प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार अधिवेशन उद्घाटन हुने भएको कांग्रेसले जनाएको छ । प्रदेश १ का लागि कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे र झापाको कांग्रेस राजनीतिमा स्थापित उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सभापति भएर काम गरेका घिमिरे कांग्रेसका बौद्धिक नेता हुन् । लामो समय विद्यार्थी राजनीतिमा खारिएका घिमिरे दुई कार्यकाल केन्द्रीय सदस्य भए । अहिलेका उनी केन्द्रीय कार्यसमिति सदस्य हुन् । उनका समकालीन युवा केन्द्रीय सदस्य पार्टी केन्द्रीय समितिको पदाधिकारी दाबी गर्दै गर्दा उनी भने प्रदेश सभापतिमा दाबी गरिरहेका छन् ।

‘मैले मेरो व्यक्तिगत राजनीतिक प्रगतिलाई प्रगति ठानिनँ । पार्टीको विधानले प्रदेश संरचना भने पनि यसले मूर्त रूप पाएको छैन । हामीले शून्यबाट सुरु गर्ने हो । भूगोल भए पनि पार्टी कार्यालय छैन,’ उनी भन्छन्, ‘तर, म प्रदेश(१ लाई शून्यबाट सुरु गरेर पार्टी कसरी चलाउने भन्ने नमुना प्रस्तुत गर्न चाहन्छु ।’

घिमिरेले पार्टीको प्रदेश सभापति निर्वाचित भए पार्टी नेतृत्वले कसरी काम गर्छ भन्ने देखाउने बताए । ‘राज्य पुनर्संरचनापछि खडा भएको प्रदेश पार्टी संरचनाका लागि नयाँ हो । यसले पार्टीको केन्द्र र स्थानीय तहलाई समन्वय गर्ने काम गर्छ । यसले संघीयतालाई जरादेखि मजबुत बनाउँछ । पार्टीको आन्तरिक जीवन लथालिङ्ग र भताभुङ्ग छ । यसलाई व्यवस्थित गर्नु छ । विधि र पद्धतिको निष्ठापूर्वक अभ्यास भएको छैन । नेतृत्व गतिशील छैन । पार्टीमा अनुशासन छैन,’ घिमिरेले भने ।

पार्टीमा न्याय र मूल्यांकन कमजोर रहेको उनले बताए । यसलाई सुधार गरेर भ्रातृ संगठन र पार्टीको अंगलाई चलायमान बनाउन जरुरी उनको भनाइ छ । यसका लागि राजनीतिक आन्दोलनबाट खारिएको नेतृत्व आवश्यक रहेको घिमिरेले बताए ।

लामो विद्यार्थी आन्दोलन र पार्टीमा दुई पटक केन्द्रीय सदस्य भएको अनुभवले म यसका लागि योग्य छु । पार्टी कार्यालय र पार्टी कसरी चलाउने म नमुना प्रस्तुत गर्न चाहन्छु । पार्टीका गतिविधि, कसरी हुन्छ, भ्रातृ संगठन कसरी परिचालन गर्ने, पार्टीमा युवाको आकर्षण कसरी बढाउने भन्ने देखाउन चाहन्छु म,’ उनले भने ।

यस्तै, नेपाली कांग्रेसको तल्लो तहबाट काम गर्दै झापाको दुई पटक सभापति भएका थापाले  पार्टीमा तल्लो तहबाट काम गरेको अनुभवका आधारमा प्रदेश सभापति भएर सदुपयोग गर्ने बताए । ‘तल्लो तहको अनुभवले मलाई प्रदेश सभापति भएर काम गर्न कुनै अप्ठ्यारो हुँदैन । पार्टीमा प्रदेशको नयाँ अनुभव गर्दैछौँ । संगठनलाई र इतिहासलाई म जीवन्त राख्छु । पार्टीको इतिहास जीवन्त रह्यो भने मात्र पार्टी जीवन्त रहन्छ,’ उनले भने ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ५३ बजे