जुम्ला र दार्चुलामा भारी हिमपातः जनजिवन कष्टकर बन्दै, चिसोबाट बच्न प्रशासनको आग्रह



जुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ। जुम्ला प्रशासनले चिसोबाट बच्न न्यानो भएर बस्न आग्रह गरेको छ ।

जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान,अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताइन् । बालबालिका र बृद्धबृद्धालाई न्यानो तथा शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध गरिएको छ, उनले भनिन् । प्रशासनले कुनै घटना भएमा तत्काल नजिकैको प्रहरी चौकीमा खबर गर्न पनि भनेको छ ।

उता दार्चुलाको हिमाली क्षेत्र ब्यास गाउँपालिकामा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि वर्षा र हिमपात हुँदा गाउँबस्तीसम्म हिउँ पुगेको सम्पाल माध्यमिक विद्यालय सुन्सेरा ब्यासका शिक्षक पदमराज भट्टले जानकारी दिए ।

ब्यास गाउँपालिकाको कार्यालयभन्दा तल्लो क्षेत्रसम्म हिउँ पुगेको छ । हिउँ निरन्तर परिरहेको उनले बताए । हिमपातले चिसो अत्यधिक बढेपछि जनजिवन कष्टकर बनेको छ । ब्यास गाउँपालिका-३ को सीना तुसरपानी, २ को राप्ला, दुम्लीङ, ४ को सुन्सेरा, डोकट, ५ को धौलाकोट र ६ को हुती लगायतका बस्तीमा हिउँ परेको छ ।

कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् । तिंकर गाउँ हिउँदमा मानवविहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रैमहिना बस्ने गरेको छ । दार्चुलाका उच्च पहाडी क्षेत्रका बस्ती दुहुँ गाउँपालिकाको पिपलचौरी, हिकिला, मालिकार्जुनको न्वालपानी, शैल्यशिखरको बरमुडे लगायतका स्थानमा समेत हिमपात भएको छ ।

प्रकाशित मिति : पुस १४, २०७८ बुधबार  ८ : ४१ बजे