खोटाङमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बिहीबार काठमाडौंबाट यात्रु लिएर दिक्तेलतर्फ जाँदै गरेको ना१ज ४९५६ नम्बरको टाटासुमो हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गुराँसेमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।
साकेला गाउँपालिका–२ रतन्छाका काजीमान राई, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका नारायण बस्नेत , उनकी श्रीमती निर्मला बस्नेत , केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका बिनाराम राई , उनकी श्रीमती शारदा राई , उनकै १ वर्षीय छोरा सोमराज राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका डिबी खड्का घाइते भएका हुन् ।
घाइतेमध्ये काजीमानको अवस्था गम्भीर रहेको छ । उनको दाहिने हातको तीन औला छिनालिएको इलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले जनाएको छ । उनको ॐबाबा पोलिक्लिनिक हलेसिमा उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।घट्ना लगत्तै चालक फरार छन् । अनियन्त्रित बनेको जिप सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।








