प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले वीपी र गणेशमानको मेलमिलापको नीतिले नै राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा प्रधानमन्त्री देउवाले बीपी कोइराला र गणेशमान सिंहप्रति उच्च सम्मान व्यक्त गर्दै यस्तो बताएका हुन् ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्केका थिए ।
उनले ट्वीटमा लेखेका छन्ः उहाँहरुको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली हुदै अहिलेको राजनीतिक परिवर्तनन सम्भव भएको हो । आजको दिन हाम्रा नेताहरुको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गर्दछु ।











