सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अस्पताल र दैनिक प्रशासनिक कार्य गर्न पठाएको स्वास्थ्य मन्त्रालय बाह्रौँ तहका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादव कार्यभार सम्हाल्न प्रतिष्ठान पुगेका छन् ।
उनीसँगै सरकारले प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एकजना उपसचिव पठाउने निर्णय गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयले सुनसरीस्थित कोष तथा लेखा निन्त्रणक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठान पठाएको छ । यादव र अधिकारी सोमबार प्रतिष्ठान पुगेका हुन् ।
छानबिन समितिले दोषी देखाएका प्रतिष्ठानका बहालवाला तीनजना पदाधिकारीहरूलाई काम गर्न रोक लगाएर मन्त्रिपरिषद्को निर्णयबाट डा. यादवलाई पठाएको हो । उनलाई पदाधिकारीले गर्ने कामको जिम्मेवारी दिइएको छ । यस्तै, आर्थिक प्रशासन तथा खाता सञ्चालन यादव र अधिकारीले गर्ने छन् ।
सरकारले बिपी प्रतिष्ठान सुधारमा ढिलै भए पनि तदारुकता देखाएको आन्दोलनरत चिकित्सकले बताएका छन् । उनीहरूले केही हदसम्म प्रतिष्ठान सुधारको आशा गरेका छन् । आन्दोलनरत चिकित्सक विष्णु पोखरेलले आन्दोलनको बारेमा सरकारले चासो देखाएको बताए । उनले विशेषज्ञ व्यक्ति प्रतिष्ठानमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिए ।








