डिभिजन वन कार्यालयकै मिलेमतोमा काठ लुकाइयो



परशुराम नगरपालिका–५ परिगाउँमा रहेको भुवनेश्वर नमुना माविको हाताभित्र कटान गरिएको रूखको काठ लुकाइएको छ । गत ३ माघमा डिभिजन वन कार्यालय डडेल्धुराको अनुमतिविना काटिएको रूख वनकै मिलेमतोमा लुकाइएको हो।

भवन र मैदान बनाउने निहुँमा व्यक्तिगत स्वार्थको लागि कटान गरिएका सिसम, हल्दु, साल र खयरका सयौ रूख कटान गरी लुकाइएको स्थानीयको भनाइ छ । विद्यालय परिसरमा रूख कटान गरेका ठूटासमेत डोजर प्रयोग गरेर माटोले पुरिएको छ।

आठ÷दश रूख कटान भएको देखाउनको लागि मात्र रूखका ठूटा छोडिएको छ । रूख कटान भएको तीन दिनपछि मात्र प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको डिभिजन वनले आठवटा सिसम र दुई वटा हल्दुका रूख कटान गरिएको रिपोर्ट सार्वजनिक गरेको छ।

तर, त्यस क्षेत्रका स्थानीय भने डिभिजन वनले गलत रिपोर्ट सार्वजनिक गरेको बताउँछन् । विद्यालय हाता भित्रका साल र खयरका रूख कटान गरिएको भए पनि अनुसन्धानको रिपोर्टमै नभएको विद्यालय व्यवस्थापन समिति सदस्य केशव नाथ बताउँछन् ।

उनले विद्यालय व्यस्थापन समितिमा समेत कुनै निर्णय नै नगरी रूख कटान गरी लुकाइएको बताए । ‘यहाँ सयभन्दा बढी सिसम, हल्दु, साल र खयरका रूख थिए । तर, आज छैनन् । रूख कटान भएको थाहा पाएपछि दोस्रो दिन वनको टोली यहाँ आएको थियो। साँझ डोजर चलेर सबै लुकाइयो,’ उनले भने।

ईलाका वन कार्यालयलाई जानकारी गराएको र रेञ्जर विद्यालयमा पुग्दासमेत जानकारी गराई रूख कटान गरिएको विद्यालयका प्रध्यानाध्यापक डम्बर थ्वालले बताए ।‘वडा अध्यक्ष मिनबहादुर चन्दको अध्यक्षतामा बैठक बसी रूख कटान गर्ने र कटान गरेका रूख व्यवस्थापन गर्ने जिम्मा पनि उनलाई नै दिइएको थियो । वनले भने रूख कटानको आदेश दिएको थिएन्,’ उनले भने।

डोजर प्रयोग गरी लुकाइएको काठ वनकै साँठगाँठमा अन्यत्र सारिएको आशंका स्थानीयको छ । आफ्नै हातले साल र खयरका रूख रोपेको केसी नाथ बताउँछन् । उनी भन्छन्, ‘यसमा वनको मिलेमतो छ । नत्र अवैध रूपमा किन रूख काटिए र?’

अवैध रुख कटान गरी बिक्रीसमेत गरिएको गुनासो आएपछि वन कार्यालयले अनुसन्धान गरेको थियो । तर, रूख कटानमा संलग्न भएका भनिएका परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टलाई अनुसन्धान अधिकृत तोकी अनुसन्धान गरिएपछि स्थानीय झन् आक्रोशित भएका छन् ।

कटान गरिएको काठको परिणाम सिसम ४५ क्युफिट र बाँकी हल्दु गरी १८८ दशमलव ८० क्युफिट रहेको भट्टले बताएका थिए । अहिले विद्यालय हाताभित्र उक्त काठ पनि छैन । अनुसन्धानपछि रातभरि डोजर प्रयोग गरी काठ लुकाइएको विद्यालय व्यवस्थापन समिति सदस्य नाथको भनाइ छ ।

प्रकाशित मिति : माघ १६, २०७८ आइतबार  १ : ११ बजे