प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती सवार जीप दुर्घटना, ८ जनाको मृत्यु



प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ८ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले पाँच महिला र तीन पुरुष गरी आठजनाको मृत्यु भएको जानकारी दिए ।

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ। ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५० वर्षीय नन्दी खड्काको ज्यान गएको हो। अन्यको पहिचान खुल्न बाँकी छ।

जीप खोल्सामा खसेको थियो ।घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको गैरेले बताए ।

प्रकाशित मिति : माघ २२, २०७८ शनिबार  ९ : ५१ बजे