लाङटाङ निकुञ्जले बरामद भरुवा बन्दुक प्रहरीलाई बुझायो



लाङटाङ राष्ट्रिय निकुञ्जले बरामद गरेको भरुवा बन्दुक प्रहरीलाई बुझाइएको छ । निकुञ्ज क्षेत्रमा विभिन्न समयमा फेला परेका भरुवा बन्दुक प्रहरीलाई बुझाइएको हो ।बुधबार सदरमुकाम धुन्चेस्थित निकुञ्ज कार्यालयमा एक कार्यक्रमको आयोजना गरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दलाई बन्दुक हस्तान्तरण गरेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईका अनुसार निकुञ्जको विभिन्न समयमा विभिन्न स्थानमा ठुलो भरुवा बन्दुक ११ थान, सानो भरुवा बन्दुक २ थान र भरुवा बन्दुकको नाल २ थान फेला पारिएको थियो ।

बेवारिसे अवस्थामा फेला पारिएका हतियार वन्यजन्तुको चोरी सिकारका लागि प्रयोग हुने गरेको भट्टराईले बताए । निकुञ्जले टुर गस्तीलगायतको संरक्षण सम्बन्धी कार्यक्रम सशक्त रूपमा सञ्चालन गरेको अवस्थामा चोरी सिकार गर्नेले बेवारिसे अवस्थामा छोडेर भागेका हुनाले हतियार नियन्त्रणमा आएको बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन २५, २०७८ बुधबार  ७ : ०३ बजे