नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको संभावनालाई नकार्न नसकिने बताएका छन् ।सल्यानको एक कार्यक्रममा सहभागी हुने क्रममा शनिवार दिउँसो नेपालगञ्जमा उत्रिएका प्रवक्ता डा। महतले नेपाल प्रेस युनियन बाँकेद्धारा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
“गठबन्धनको संभावनलाई नर्कान सकिदैन”, प्रवक्ता डा।महतले भने, “यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलहरुको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ । प्रस्ताव कस्तो आउछ त्यसमा भरपर्दछ । विनविन पोजिसनमा हुन सक्छ ।”
उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताए ।उनले नेपाली कांग्रेसका कार्यकर्ताहरु अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन नहुने पनि बताए ।
उनले भने, “गठबन्धनको बारेमा अहिल्यै जनतालाई भन्न जरुरी छैन । हामी सत्यमा, कानूनमा, नागरिक स्वतन्त्रतामा, मानव अधिकारमा, यथार्थमा विश्वास गर्ने, पारदर्शितामा विश्वास गर्ने पार्टी हो । हामीलाई विश्वास गर्नुस् भन्ने हो । कांग्रेसका प्रति गुनासो भए, विकासका समस्या भए भन्नुस् भन्ने हो ।”








