बलात्कार घटनामा शीघ्र छानबिन गरी दोषिलाई कारबाही गर्न सरकारलाई सभामुखको निर्देशन



सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानुनी कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सभामुखको ध्यानाकर्षण गराएका थिए।

सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

केही वर्ष पहिले एक युवतीलाई मोडलिङका नाममा यौन हिंसा गरेको भन्ने विषय पीडितले नै सार्वजनिक गरेपछि दोषीलाई कारबाही गर्न माग गरिएको छ‍।

दोषीमाथि कारबाहीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडिसमेत अधिकारकर्मीले आज प्रदर्शन गरेका छन्।रासस

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  २ : १० बजे