मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन थालियो फोहोर



काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो ।

नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणको काम थालेको थियो । बन्चरे डाँडामा फोहोर खसाउन थालिएसँगै लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारदेखि उठ्न थालेको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौं महानगरपालिकाले सोमबार राति नै विसर्जनका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा काठमाडौंबाट पठाइएको थियो । मंगलबार पनि काठमाडौंबाट फोहोर बोकेका ट्रक बन्चरेडाँडातर्फ गएका छन् ।

हाल काठमाडौं र ललितपुरबाट १०० वटा ट्रक फोहोर बन्चरेडाँडामा खसाइएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिए । स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उहाँले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अब निरन्तर फोहोर विसर्जन गरिने बताए ।

मन्त्री झाँक्रीले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर तत्काल काठमाडौँको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : ४४ बजे