नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट अहिलेका आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री बनाउनेको नाम प्रधानमन्त्रीलाई बुझाएको छ। नयाँ मन्त्री बनाउनेको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरिएको समाजवादीका एक नेताले जानकारी दिए ।
एकीकृत समाजवादीले भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेको ति नेताले बताए।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि अध्यक्ष नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका हुन् ।
पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रीहरूलाई पहिला नै ६ महिनाको लागि भनेको बताएका हुन् ।‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले छ महिना भनेका थियौं । सुरूदेखि नै छ महिनाका लागि भनिएको हो। यो रेगुलर प्रोसेस हो,’ अध्यक्ष नेपालले भने ।








