नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन सफल भएको बताएकाछन् ।
अन्तराष्ट्रिय पत्रकार महासङ्घ ९आइएफजे० को एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसिया क्षेत्रबाट कार्यकारी सदस्यमा निर्वाचित भएका नेपाल प्रेस युयिनका अध्यक्ष बद्री सिग्देललाई आज प्रेस युनियनको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बधाई तथा सम्मान गर्दै उनले आगामी मङ्सिरमा हुने आमनिर्वाचनमा पनि गठनबन्धन कायम हुने र कांग्रेसबाट तलमाथि नहुने बताए ।
प्रवक्ता डा महतले प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्न आइएफजे महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताउँदै प्रेस युनियनका अध्यक्ष नै यसमा निर्वाचित भएपछि प्रेस स्वतन्त्रताका लागि नेपालले पनि यसको सदुपयोग गर्न पाउने उल्लेख गरे। उनले प्रेस युनियन कांग्रेसको शुभेच्छुक संस्था भएको र आगामी साउन ६ र ७ गते तोकिएको युनियनको महाधिवेशन सम्पन्न गर्न सक्दो सहयोग र सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
वरिष्ठ पत्रकार हरिहर वीरहीले नेपालको आइएफजेमा प्रेस युनियनका अध्यक्ष निर्वाचित हुनु नेपालको लोकतन्त्र र प्रेसप्रति सम्मान र सद्भाव भएको बताउँदै यो अवसरलाई युनियनले मौकाका रुपमा लिँदै सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरे । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आइएफजेमा नेपाल निर्वाचित हुनु नेपालको प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लाागि महत्वपूर्ण अवसर र उपलब्धि हो भने । उनले नेपालमा हुने प्रेस स्वतन्त्रताबिरोधी क्रियाकलापको निगरानी र खबरदारी गर्न यसले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।








