आर्थिक संकट टार्न अर्थमन्त्री हटाउने पहल गर्न डा. शेखरलाई अर्थविद्हरूको सुझाव



नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले देशको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाका बारेमा विज्ञहरुसँग छलफल गरेका छन्।

डा. कोइरालाले सोमबार बिहान होटल मल्लमा कांग्रेस केन्द्रीय सदस्यस तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोख्रेल, पूर्व मुख्य सचिव डा. विमल कोइराला, अच्युत वाग्ले, पुरञ्जन आचार्य र व्यवसायी नरेश श्रेष्ठ लगायतसँग छलफल गरेका हुन्।

छलफलमा अर्थविद्हरूले देश वर्तमान अवस्थामा आइपुग्नुमा कांग्रेस सत्तारुढ दल भएकाले मुख्य जिम्मेवार भएको भन्दै सुधारको कदम पनि कांग्रेसले चाल्नुपर्ने बताएका थिए । डा. कोइरालालाई सुझाव दिने क्रममा उनीहरुले यी विषयहरुलाई पार्टीको केन्द्रीय समितिदेखि विभिन्न फोरमहरुमा सशक्त रूपमा प्रस्तुत गर्न अनुरोध गरेका थिए ।

आर्थिक अनुशासन उल्लंघन गरिरहेका संस्था, संरचना र व्यक्ति परिवर्तन गर्नु पर्नेमा अर्थविद्हरूको जोड थियो। अर्थव्यवस्थालाई नकारात्मक बन्नुमा वर्तमान अर्थमन्त्री दोषी रहेको भन्दै मुलुकको आर्थिक संकट टार्न अर्थमन्त्री हटाउनुपर्ने उनिहरुले बताएका थिए ।

बैठकमा सहभागीले राखेको कुरा उद्धृत गर्दै डा. पोखरेलले भने, ‘ पार्टी बचाउन न्यूनतम आर्थिक अनुशासन कायम भएको छैन। यसले केही व्यक्ति, व्यापारीलाई फाइदा होला, नेपाली कांग्रेसलाई हुँदैन,’ उनले भने, ‘आर्थिक अनुशासन उल्लंघन गरिरहेका संस्था, संरचना र व्यक्ति परिवर्तन गर्नु पर्नेमा सुझाव छलफलमा आयो।

 

 

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ३ : ३७ बजे