मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कृष्ण लीला’ टिमले झुमायो चितवनवासीलाई



कृष्णजन्माष्टमी अर्थात ३ भदौदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण–लीला’ को टिमले चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ ।

सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्ण लीला’का अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, निर्देशक दीपक ओली, गायक रवि ओड, गायिका सुनीता कार्की र कोरियोग्राफर माइकल चन्द चितवन पुगेका थिए ।

ओएसिस एजुकेसनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुर कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरूलाई सम्बोधन गर्दै ‘कृष्ण लीला’ को ‘अटल वाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए ।

बुद्धि तामाङ र रविन्द्र झाले दर्शकहरूलाई ‘कृष्ण लीला’ हेर्न आग्रह गर्दै रमाइलो प्रस्तुति दिएका थिए । गायक रवि र गायिका सुनिताले ‘अटल वाचा गरे’ गाउँदा दर्शकहरू निकै हौसिएर ‘वान्स मोर’ भन्दै नारा लगाएका थिए ।

चितवनबासी दर्शक श्रोताबाट पाएको माया, सम्मान र हौसलाले निकै खुशी लागेको अभिनेता पुष्पले बताए । उनले आफू जहिल्यै चितवन आउँदा पनि औधी माया पाइरहेको स्मरण गरे । निर्देशक दीपकले दर्शकलाई ‘कृष्ण लीला’ हेरेर प्रतिक्रिया दिन आग्रह गरे भने अभिनेत्री श्रद्धाले प्रदर्शनको हिसाबले यो नै आफ्नो पहिलो फिल्म भएकाले भरपुर माया र साथको अपेक्षा राखेको बताइन् । साँझ ५ बजे सुरु भएको कन्सर्टमा ‘कृष्ण लीला’ का कलाकार तथा निर्देशकसँग फोटो र सेल्फी खिच्ने काम अबेर रातिसम्मै चलेको थियो ।

द पोजेटिभ इभेन्ट्सले व्यवस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेशनल एकेडेमी पर्सा, अकिवा वाइन, सिजी ल्याण्डमार्क, फोकस इन्टरटेन्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन, लेक २० थाउजेन्ड फार्म एण्ड रिट्रिटलगायत थिए । आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

लक्ष्मण सुवेदी लिखित फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रविन्द्रका साथमा हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मी तथा बालकलाकार आयुष गुरागाईँले अभिनय गरेका छन् ।

प्रकाशराज कार्की र केवल तामाङ निर्माता तथा पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मका गीतमा रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी छ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्ममा श्री श्रेष्ठको थ्रिल छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १ : २४ बजे