मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा म्यादी प्रहरीका लागि एक हजार ५११ को आवेदन



खोटाङमा म्यादी प्रहरीका लागि एक हजार पाँच सय ११ जनाको आवेदन परेको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३४७ महिला र एक हजार १६४ पुरुषको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामबालक रायले बताए ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आह्वान गरेको थियो ।

म्यादी प्रहरीको स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज ९ गतेदेखि असोज १४ गतेसम्म दिक्तेलको हेलिप्याडमा सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका र पूर्व सुरक्षाकर्मीले भने स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा दिन नपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीको अन्तिम नतिजा असोज २५ गते प्रकाशन हुने छ । जिल्लामा करिब १२ देखि १३ सयको हाराहारीमा म्यादी प्रहरी छनौट गरिने सूचना अधिकारी एवं प्रहरी निरीक्षक रायले बताए ।

परीक्षामा उत्तीर्ण म्यादी प्रहरीले सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलब, पोसाक र राशन उपलब्ध पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ३४ बजे