मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ–बुटवल सडक : १८ प्रतिशत मात्रै काम



पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ ।

आइतबार सडक विभागको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीको कार्यशैलीमा परिवर्तन नआए ठेक्का सम्झौता भङ्ग गर्ने जनाएको हो । नारायणगढबाट बुटवलसम्मको जम्मा एक सय १४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । ग्लोबल बोलपत्र प्रक्रियामार्फत सबैभन्दा न्यून दररेटमा बोलपत्र हालेर चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड’ले दुवै खण्डको निर्माणको ठेक्का हात पारेको थियो । निर्माण कम्पनीले ठेक्का पाएदेखि नै सडक विस्तारको काममा ढिलासुस्ती गर्दै आइरहेको गुनासा आइरहेका थिए ।

गत साउन २२ गते काम सकिसक्नुपर्ने समयमा जम्मा १८ प्रतिशत मात्रै काम भएको र कामको गति ज्यादै सुस्त भएको जनाउँदै सडक विभागले निर्माण कम्पनीलाई कार्यशैली सुधार गर्न चेतावनी दिएको हो । एक महिनाभित्र निर्माण कम्पनीले कार्यशैली सुधार गर्दै सडक विस्तारको काममा चित्तबुझ्नो प्रगति नगरेको अवस्थामा ठेक्का रद्द गर्ने विभागले सूचनामार्फत जनाएको छ । सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले नारायणगढ बुटवल सडक विस्तार अयोजना र परामर्शदाताले दिएका निर्देशन पालना नगरेको विभागको आरोप छ ।

बुटवलबाट नारायणगढसम्मको सडकमा सडकका विभिन्न खण्ड यात्रा गर्नै नमिल्ने गरी क्षतिग्रस्त हुँदासमेत मर्मत नगरिएको विभागको भनाइ छ । ठेकेदारको लापर्बाहीले सवारीसाधन र सर्वसाधारणले यात्रा गर्दा असहजता, प्रदूषण र स्वास्थ्यसम्बन्धी समस्या भोग्नुपर्ने अवस्था आएको विभागले सूचनामा जनाएको छ । सडकको अवस्था बिग्रिएका कारण सडक वरिपरिका बासिन्दालाई असुविधा, स्थानीयको स्वास्थ्य समस्या, सडक प्रयोगकर्ताको दुर्घटना र सार्वजनिक सुरक्षामा समेत चुनौती थपिएको स्थानीय समुदायबाट गुनासो आएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : ३३ बजे