डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन



साहित्यकार डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन गरिएका छन् ।

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० डा कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल सङ्ग्रह ‘प्रतिबिम्ब’, कवितासङ्ग्रह ‘सीमाहीन सीमा’ र ‘रङ्गको पहिचान’ आज विमोचन गरिएको हो ।

उक्त कृतिको विमोचन गर्दै वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीले डा कैनीको कृतिले नेपाली साहित्य जगतमा नयाँ इँटा थपिएको बताए । “हरेक कृतिमा जीवनलाई सहज ढङ्गले लेखेको पाइयो, फराकिलो क्यान्भासलाई छोटकरीमा लेखिएको छ”, उनले भने ।

वरिष्ठ मुटुरोग विशेषज्ञ एवं साहित्यकार डा भगवान कोइरालाले एकैपटक धेरै कृति नेपाली साहित्य जगतमा ल्याउनु उल्लेखनीय कार्य भएको बताउनुभयो । उहाँले लेखक डा कैनीलाई आगामी कृति लेखनको शुभकामनासमेत दिए । ‘अदृश्य मनका सादृश्यहरु’ निबन्ध सङ्ग्रहबारे चर्चा गर्दै नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले निबन्धकार डा कैनीले मनका कुरा निबन्धमार्फत प्रस्तुत गरेको बताए । उनले कृतिले लेखकलाई सँधैभर अमर राखेको उल्लेख गरे ।

‘भिसागर्ल’ कथासङ्ग्रहमाथि चर्चा गर्दै वरिष्ठ साहित्यकार शिव प्रकाशले प्रवासमा बसेर लेखिएका कृतिमा नेपालीपन घुस्ने गरेको बताए । उनले समग्रमा कथासङ्ग्रह राम्रो भएपनि केही कथाहरु हतारमा लेखिएको भान पाठकमा भएको उल्लेख गरे ।

‘सीमाहीन सीमा’ र ‘रङको पहिचान’ कविता सङ्ग्रहमाथि चर्चा गर्दै कवि प्राडा खुमनारायण पौडेलले ५०/५० कविता समावेश भएका दुईवटै कृति सरल भाषामा लेखिएका बताए । उनले कविताभित्र राजनीति, प्रकृति र व्यङ्ग्य भएको उल्लेख गरे ।

वरिष्ठ समाजसेवी एवं पूर्वराज्यमन्त्री अमरराज कैनीले सामान्य परिवारमा जन्मेर बेलायतमा विद्यावारिधी गर्नुभएका डा कैनीले अस्पताल व्यवस्थापन बाहेक नेपाली साहित्यमा देखाएको रुची सराहनीय भएको बताए । उनले डा कैनी बहुप्रतिभाका धनी भएको उल्लेख गरे ।

प्रकाशित मिति : कार्तिक ५, २०७९ शनिबार  ७ : ३९ बजे